मन्त्री र सांसदको दैनिक मापसे परीक्षण गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्रीसहित सरकारमा रहेका सबै मन्त्रीहरूको दैनिक मादक तथा लागु पदार्थ सेवन (मापसे/लापसे) परीक्षण गर्नुपर्ने माग गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्य सञ्चालनमा रहेका व्यक्तिहरूको नियमित स्वास्थ्य र व्यवहार परीक्षण आवश्यक रहेको बताएका हुन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेकजाँच दैनिक गरिनु पर्दछ।”

साम्पाङले यस्तो परीक्षण देशको समग्र स्वास्थ्य र सुशासनका लागि अनिवार्य भएको उल्लेख गरेका छन्। साथै उनले मन्त्री मात्र नभई सांसदहरूको पनि नियमित जाँच हुनुपर्ने माग अघि सारेका छन्।

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न यस्तो व्यवस्था आवश्यक रहेको बताएका छन् भने केहीले यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्।

Sarita Karmakar