ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन जारी, आज सीडीओ कार्यालयमा विरोधपत्र बुझाइँदै

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आज पनि देशव्यापी विरोध कार्यक्रम जारी राख्ने भएको छ। पार्टीले आज मध्याह्न १२ बजे देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा जुलुससहित विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।

एमालेका सचिव महेश बस्नेत का अनुसार सबै जिल्लामा समन्वय गरी विरोधपत्र बुझाइनेछ। शनिबार बिहानै पूर्वप्रधानमन्त्री ओलीसहित पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई पक्राउ गरिएको थियो। त्यसलगत्तै बसेको एमाले सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। शनिबार राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शनसमेत भएका थिए।

एमालेले ओली र लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ र पूर्वाग्रही भन्दै राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै पार्टीले उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ।

आन्दोलन र प्रतिवादलाई व्यवस्थित बनाउन पार्टीले तीन शीर्ष नेतालाई जिम्मेवारी तोकेको छ। राजनीतिक संवाद तथा समन्वयको जिम्मा उपाध्यक्ष विष्णु पौडेल लाई, संसदमा रहेका दलहरूसँग समन्वयको जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई र कानुनी प्रतिवादको जिम्मा गोकर्ण विष्ट लाई दिइएको छ।

यसैबीच गृहमन्त्री सुधन गुरुङ ले भने यो कदम कसैप्रति प्रतिशोध नभई न्यायिक प्रक्रियाको सुरुवात मात्र भएको दाबी गरेका छन्। पक्राउ परेका ओली र लेखक दुवैलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने तयारी गरिएको छ।

Sarita Karmakar