भीआइपी सवारीका नाममा जनतालाई सास्ती नदिन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले मन्त्री तथा भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने कार्य तत्काल रोक्न ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै मन्त्री गुरुङले नागरिकको आवागमनमा अवरोध सिर्जना गरेर भीआइपीलाई विशेष सुविधा दिन नहुने स्पष्ट पारे। उनले यस्तो प्रवृत्तिले जनतामा असन्तुष्टि बढाउने भन्दै यसलाई तुरुन्त अन्त्य गर्न चेतावनी दिए।

निरीक्षणका क्रममा उनले ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारी लगायतका अधिकारीहरूलाई सडक व्यवस्थापन गर्दा नागरिकको सहजतालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।

मन्त्री गुरुङले भने, “जनतालाई दुःख दिने गरी भीआइपीलाई स्पेसल ट्रिट गर्ने होइन। नागरिकका लागि आवागमन सहज हुनुपर्छ, हामी नागरिककै सेवक हौं।”

उनले मन्त्रीहरूलाई गन्तव्यमा समयमै पुग्न अग्रिम योजना बनाउन सुझाव दिँदै सडक खाली गराएर सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

गृहमन्त्री गुरुङले भीआइपी सवारी व्यवस्थापनका नाममा सर्वसाधारणको दैनिक जीवन र आवागमन कुनै पनि हालतमा प्रभावित हुन नहुनेमा जोड दिएका छन्।

Sarita Karmakar