ओलीको रिहाइ माग्दै एमाले कार्यकर्ता आक्रामक, बबरमहलमा तोडफोड र आगजनी
काठमाडौं । केपी शर्मा ओलीको रिहाइको माग गर्दै सडकमा उत्रिएका नेकपा (एमाले) कार्यकर्ताहरू आक्रामक बनेका छन्। शनिबार दिउँसो माइतीघर क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले बबरमहलतर्फ अघि बढ्दै गाडी तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले मूल सडकमै टायर बाल्नुका साथै बबरमहल क्षेत्रमा एउटा निजी गाडीको सिसा फुटाएका छन्। आक्रोशित भीडलाई नियन्त्रणमा लिन सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रहरीले बाटो खुलाउने र भीड नियन्त्रण गर्ने प्रयास गर्दा प्रदर्शनकारीसँग धकेलाधकेल भएको छ। प्रदर्शनकै क्रममा भीडमा घुसपैठ भएको आशंका गर्दै एमाले कार्यकर्ताहरूले एक जना अपरिचित व्यक्तिमाथि कुटपिट समेत गरेका छन्।
प्रदर्शनकारीमध्ये एक समूह नाराबाजी गर्दै सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेको छ भने अर्को समूह बबरमहल क्षेत्रमै बसेर विरोध प्रदर्शनलाई निरन्तरता दिइरहेको छ।
शनिबार बिहान अध्यक्ष ओली पक्राउ परेपछि बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सरकारको कदमको राजनीतिक तथा कानुनी रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि आक्रोशित कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानमा भेला भएर सडक प्रदर्शनमा उत्रिएका हुन्।
