ओली–लेखकलाई मात्र होइन, राज्यका अंग जलाउने योजनाकारलाई पनि कारबाही गरियोस् : हर्क साम्पाङ
बिराटनगर । हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकपक्षीय कारबाही मात्र पर्याप्त नहुने उल्लेख गरेका छन्। उनले जेन–जी आन्दोलनका क्रममा राज्यका प्रमुख अंगहरू जलाउने योजना बनाउने तथा त्यसमा संलग्न व्यक्तिहरूमाथि पनि समान रूपमा कारबाही हुनुपर्ने बताएका हुन्।
साम्पाङले २४ गते भएको घटनामा संलग्न मुख्य योजनाकारहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सिंहदरबार, सर्वोच्च न्यायालय र संसद् भवन जलाउने योजना बनाउनेहरूलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारे।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “केपी ओली र रमेश लेखकलाई कारबाही होस्, तर २४ गते सिंहदरबार, सर्वोच्च न्यायालय र संसद् भवन जलाउने योजनाकार र त्यो कृत्य गर्ने अगुवाहरूलाई पनि कारबाही हुनुपर्छ।”
