तीन जिल्लाबाट लागूऔषधसहित ३ जना पक्राउ

विराटनगर ।झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, गाँजा तथा प्रतिबन्धित औषधी बरामद गरिएको प्रहरीले जनाएको छ।

भद्रपुर स्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–६ बाट भारत ठाकुरगञ्जका ३७ वर्षीय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी बराहक्षेत्र–८ शुक्रबारेमा चेकजाँचका क्रममा बीआर ३८ एल २९६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालक देवानगञ्ज–१ का २३ वर्षीय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। उनलाई महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

उता त्रियुगा–६ लालपत्ता चोकमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा–९ का चुडामणी रायाराझीको साथबाट प्रतिबन्धित औषधी बरामद गरेको छ। उनको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र निड्राजेपाम ५४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Sarita Karmakar