मौसम खराबीबीच महावीर पुनको पुस्तक बिक्री अभियान जारी
बिराटनगर । प्रतिनिधिसभाका स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुन ले मौसम प्रतिकूल भए पनि शनिबार काठमाडौँ उपत्यकाका दुई स्थानमा आफ्नो पुस्तक बिक्री अभियानलाई निरन्तरता दिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले दिनभरको बिक्री तालिका सार्वजनिक गरेका हुन्। उनका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बानेश्वर चोकको उत्तरपट्टि खुला स्थानमा पुस्तक बिक्री गरिनेछ।
त्यसैगरी, दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म सल्लाघारी मुख्य चोक नजिकै खुला स्थानमा पनि पुस्तक उपलब्ध हुनेछ।
पुनले सार्वजनिक सन्देशमा भनेका छन्, “मौसम अलि खराब भए पनि आज शनिबार किताब बेच्ने तालिका यस अनुसार छ… किताब बेचेको पैसा वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा खर्च भइरहेको छ।”
उनले पुस्तक बिक्रीबाट संकलित रकम वीरगञ्ज मा स्थापना गरिएको कृषि औजार कारखानाको सञ्चालनका लागि प्रयोग भइरहेको जानकारी दिएका छन्।
यता मौसमविद्हरूले भने देशका विभिन्न भागमा वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। आइतबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।
