पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, देशभर बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय हुँदा देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने जनाइएको छ। यी प्रदेशका केही स्थानहरू तथा पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा समेत मौसम बदली रहनेछ। अन्य स्थानहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

Sarita Karmakar