विराटनगरमा निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी एकदिने प्रशिक्षण गोष्ठी सम्पन्न
विराटनगर । विराटनगरमा प्रिन्सिपल एसोसिएसन नेपालको आयोजनामा आइतबार विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी एकदिने प्रशिक्षण गोष्ठी सम्पन्न भएको छ।
प्रिन्सिपल एसोसिएसनविराटनगरका अध्यक्ष तथा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रिन्सिपल एसोसिएसन नेपाल कोशी प्रदेश अध्यक्ष विश्वर राईले गरेका थिए।
कार्यक्रममा प्रिन्सिपल एसोसिएसन मोरङका अध्यक्ष तथा साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले विशिष्ट अतिथिका रूपमा रहेका थिए। त्यसैगरी प्रिन्सिपल एसोसिएसन मोरङका उपाध्यक्ष राजेन्द्र घिमिरे, सचिव अभिनन्दन यादव तथा सदस्यहरू चिन्तामणि रिजाल र रमेश नेपालको पनि उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका विज्ञ डा. रमेश अवस्थी तथा निमा फाउन्डेसनका मोहन सिंह र जानकी शर्माले सहजीकरण गरेका थिए। कार्यक्रममा विराटनगर महानगरपालिका अन्तर्गतका करिब ५० विद्यालयका शिक्षकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
गोष्ठीमा एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म लागू निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष विश्वर राईले यस्तो प्रकारको प्रशिक्षणले कक्षा कोठामा कार्यान्वयन भइरहेको एकीकृत पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीमा देखिएका चुनौती समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष खेमराज भट्टराईले प्रिन्सिपल एसोसिएसन एक गैरराजनीतिक संस्था भएको उल्लेख गर्दै प्रधानाध्यापक तथा शिक्षकहरूको पेशागत र नेतृत्व क्षमता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रहेको बताएका थिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पहल निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन प्रिन्सिपल एसोसिएसन विराटनगरका सचिव अरविन्द यादवले गरेका थिए।
