बिराटनगरमा श्रीराम नवमी र श्रीहनुमान जयन्ती अवसरमा भव्य कार्यक्रम आयोजना हुने

विराटनगर । विश्व हिन्दु परिषद नेपाल कोशी प्रदेश समितिले श्रीराम नवमी र श्रीहनुमान जयन्तीको अवसरमा विराटनगरमा छुट्टाछुट्टै भव्य कार्यक्रम आयोजना गर्ने भएको छ।

परिषदका कोशी प्रदेश अध्यक्ष देबेन्द्र प्रसाद गुप्ता ले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै विगत तीन वर्षदेखि यी अवसरमा कार्यक्रम हुँदै आए पनि यस वर्षका कार्यक्रम अझ विशेष, भव्य, सभ्य र व्यवस्थित हुने बताउनुभयो।

परिषदका अनुसार श्रीराम नवमीको अवसरमा यही चैत १३ गते विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिर बाट दिउँसो २:३० बजे भक्तजनहरू भेला भई बृहत् मोटरसाइकल र्‍याली आयोजना गरिनेछ। उक्त र्‍यालीले विराटनगर महानगर क्षेत्रको परिक्रमा गर्नेछ।

त्यसैगरी, चैत १९ गते श्रीहनुमान जयन्तीको अवसरमा रथसहित भव्य शोभायात्रा निकालिने कार्यक्रम तय गरिएको छ। दिउँसो ४:३० बजे सुरु हुने उक्त शोभायात्रामा धर्म र संस्कृतिको झल्को दिने विभिन्न झाँकीहरू समेत प्रस्तुत गरिनेछन्। शोभायात्राले पनि विराटनगर शहरको परिक्रमा गर्नेछ।

यसअघि २०८० सालमा परिषदकै आयोजनामा भएको कार्यक्रममा केही स्थानमा हिन्दु–मुस्लिम समुदायबीच विवाद भई तनावको अवस्था सिर्जना भएको स्मरण गर्दै यस वर्ष त्यस्ता उच्छृंखल गतिविधि हुन नदिन विशेष सुरक्षा व्यवस्था मिलाइएको परिषदले जनाएको छ। साथै धार्मिक सद्भाव कायम राख्न आवश्यक सावधानी अपनाइएको पनि परिषदको भनाइ छ।

Sarita Karmakar