युवराज्ञी हिमानी शाहद्वारा कीर्तिपुरस्थित ‘कृतिनारी’ केरा फाइबर उद्योगको अवलोकन
काठमाडौं । हिमानी ट्रष्टकी अध्यक्ष श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकारबाट कीर्तिपुरस्थित ‘कृतिनारी’ केरा फाइबर उत्पादन प्लान्टको अवलोकन गरिबक्सेको छ।

उहाँले उक्त उद्योगमा केराबाट निकालिने फाइबरमार्फत विभिन्न कपडा तथा हस्तकलाका सामग्री उत्पादन गर्ने प्रक्रिया, प्रयोग भइरहेको प्रविधि र उद्योगले स्थानीय महिलालाई प्रदान गरिरहेको रोजगारीको अवसरबारे जानकारी लिनु भएको थियो।

अवलोकनका क्रममा युवराज्ञी शाहले स्वदेशी कच्चा पदार्थको उपयोग गर्दै वातावरणमैत्री उत्पादनलाई प्रवर्द्धन गर्ने यस्ता उद्योगहरूले देशको आर्थिक विकाससँगै महिला उद्यमशीलतालाई समेत बल पुर्याउने बताउनुभएको थियो।

‘कृतिनारी’ ले केरा खेतीबाट प्राप्त हुने फालिने डाँठको प्रयोग गरेर फाइबर उत्पादन गर्दै आएको छ, जसबाट कपडा, झोला तथा विभिन्न हस्तकला सामग्री निर्माण गरिन्छ। यसले स्थानीय स्रोतको सदुपयोग गर्दै दिगो उद्योग विकासको उदाहरण प्रस्तुत गरेको उद्योगका प्रतिनिधिहरूले बताएका छन्।
युवराज्ञी शाहले स्वदेशी उत्पादनको प्रवर्द्धन र महिला सशक्तीकरणमा यस्ता उद्योगहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रयासहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
