श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षकमा ग्यारी किर्स्टेन नियुक्त
बिराटनगर । श्रीलंका क्रिकेट संघले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर तथा अनुभवी प्रशिक्षक ग्यारी किर्स्टेनलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
सोमबार श्रीलंका क्रिकेटले किर्स्टेनलाई दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो। संघका अनुसार उनले आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपमा श्रीलंकाली टिमको नेतृत्व गर्नेछन्।
किर्स्टेन अन्तर्राष्ट्रिय क्रिकेटमा सफल प्रशिक्षकका रूपमा चिनिन्छन्। दक्षिण अफ्रिकाका पूर्वखेलाडीसमेत रहेका उनले भारतको राष्ट्रिय क्रिकेट टिममा पनि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।
उनी सन् २००८ देखि २०११ सम्म भारतको मुख्य प्रशिक्षक रहेका थिए। उनको प्रशिक्षणमै भारतले सन् २०११ मा आईसीसी पुरुष क्रिकेट विश्वकप जितेको थियो।
त्यसपछि उनी सन् २०११ देखि २०१३ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका थिए। उनको कार्यकालमा दक्षिण अफ्रिका आईसीसीका विभिन्न ढाँचामा शीर्ष स्थानमा पुग्न सफल भएको थियो।
