निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार निर्वाचन प्रहरी बिदाइ गरिँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन्। निर्वाचन सुरक्षामा खटाइएका उनीहरूलाई औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरेको थियो। उनीहरूलाई ४० दिनसम्म निर्वाचन सुरक्षामा खटाइएको थियो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ भने मतगणनाको परिणाम पनि सार्वजनिक भइसकेको छ। यससँगै निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले फागुन २८ गते देशभर निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’सहित बिदाइ गरिने जानकारी दिए। सशस्त्र प्रहरी बलले पनि सोही दिन आफ्ना निर्वाचन प्रहरीलाई औपचारिक रूपमा बिदाइ गर्ने जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टका अनुसार निर्वाचन सुरक्षामा खटिएका १५ हजार ११० जना निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिनेछ।

निर्वाचन सुरक्षामा ४० दिन खटिएबापत सरकारले निर्वाचन प्रहरीलाई ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ। त्यसबाहेक रासन तथा आउजाउका लागि ८४६ रुपैयाँ तयारी खर्च दिइएको छ। साथै ४ दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च पनि उपलब्ध गराइएको छ। पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको नेपाल प्रहरीका प्रवक्ता काफ्लेले जानकारी दिए।

उनका अनुसार सेवा–सुविधा किस्ता–किस्तामा वितरण गरिएको छ। धेरैले सेवा–सुविधा प्राप्त गरिसकेका छन् भने केहीले लिने प्रक्रियामा रहेका छन्।

निर्वाचनमा दुई सुरक्षा सङ्गठनबाट परिचालित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीका लागि सेवा–सुविधामा करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। नेपाल प्रहरीले मात्रै ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने सशस्त्र प्रहरीले करिब ७० करोड रुपैयाँ खर्च गरेको जनाएको छ।

निर्वाचन ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरीको ज्यान गएको थियो भने दुर्घटनामा परेर नेपाल प्रहरीका एक असईको पनि मृत्यु भएको थियो। ड्युटीका क्रममा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ।

यसैगरी, ड्युटीकै क्रममा बिरामी परेका निर्वाचन प्रहरीको उपचार खर्च पनि सरकारले बेहोरेको प्रहरीले जनाएको छ।

Sarita Karmakar