देशका केही स्थानमा फाटफुट वर्षा, मौसम अझै केही दिन बदली रहने
काठमाडौं । देशका केही स्थानमा फाटफुट वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने देशभरका हिमाली भेगमा मौसम बदली भएको छ।
विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् विभूती पोखरेलका अनुसार नेपालको उच्च भूभागमा वर्षा हुने प्रणाली बनेको भए पनि अपेक्षित रूपमा पानी पर्न सकेको छैन। उनले उक्त प्रणालीबारे विभागले निरन्तर निगरानी गरिरहेको जानकारी दिइन्।
पछिल्लो एक घण्टामा काठमाडौंमा १ दशमलव ४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
मौसमविद्का अनुसार स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय रहेकाले देशभरको मौसम तत्काल पूर्ण रूपमा खुल्ने सम्भावना कम छ। विभागले अझै दुईदेखि तीन दिनसम्म मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको जनाएको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। साथै पश्चिमबाट आउने पश्चिमी वायुको प्रभाव पनि कायम रहेकाले मौसममा बदलीको अवस्था रहेको विभागले जनाएको छ।
