झापामा ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान

झापा । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा अघि बढिरहेको छ।

जिल्लामा रहेका कुल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ बजेसम्म ४ लाख २५ हजार ७ सय ३७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

हालसम्मको विवरण अनुसार झापामा पुरुषभन्दा महिला मतदाताको सहभागिता बढी देखिएको छ। खसेको कुल मतमध्ये २ लाख २६ हजार ८ सय ९० जना महिला रहेका छन् भने १ लाख ९८ हजार ८ सय ४७ जना पुरुषले मतदान गरेका छन्।

निर्वाचन क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ। उक्त क्षेत्रमा ६१.१० प्रतिशत मतदान भएको छ। यहाँ रहेका १ लाख ६३ हजार ३ सय ७९ मतदातामध्ये ९९ हजार ८ सय १९ जनाले मतदान गरेका छन्।

यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह लगायत उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

यस्तै, क्षेत्र नम्बर २ मा ६०.६३ प्रतिशत मतदान भएको छ। यहाँ रहेका १ लाख ४७ हजार ५ सय २२ मतदातामध्ये ८९ हजार ४ सय ४३ जनाले मतदान गरेका छन्।

जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

Sarita Karmakar