मोरङका सबै मतदान केन्द्रमा मतदान सुरु
विराटनगर । मोरङ जिल्लाका सबै मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। जिल्लाभर रहेका ८८८ वटै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वालले जानकारी दिएका छन्।
मतदाताले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी तथा लालपूर्जा देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
मतदानलाई व्यवस्थित बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै अपाङ्गता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई लाइन बस्न नपर्ने विशेष सुविधा दिइएको छ।
मोरङ जिल्लामा ३०६ मतदान स्थलमा ८८८ मतदान केन्द्र रहेका छन्। जिल्ला कारागार र आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा निर्वाचन प्रहरी गरी ७ हजार ८५१ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
