मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित, १६ उडान रद्द
काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र बन्दका कारण नेपालको अन्तर्राष्ट्रिय उडान तालिका निरन्तर प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार पनि पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
कार्यालयका अनुसार जजीरा एयरलाइन्स, कुवेत एयरलाइन्स, एअर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका काठमाडौंका निर्धारित उडानहरू रद्द भएका हुन्।
कुवेत, सारजहाँ, आबुधावी, दुबई र दोहाका उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विमानस्थल कार्यालयले जनाएअनुसार मध्यपूर्वबाहेक अन्य मुलुकतर्फका उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र आज पनि बन्द रहेको छ। यसअघि सोमबार पनि १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए।
यसैबीच, मध्यपूर्वमा बढ्दो युद्धको त्रासदीबीच विश्वका विभिन्न देशबाट यात्रा गर्ने आठ हजारभन्दा बढी यात्रु दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्टको ट्रान्जिटमा रोकिएको बताइएको छ। कतार सरकारका अनुसार कतार एयरवेजलगायत विभिन्न एयरलाइन्सबाट यात्रा गरिरहेका यात्रुहरू विमानस्थल सञ्चालन अवरुद्ध भएपछि ट्रान्जिटमै रोकिएका हुन्।
कतारी विदेश मन्त्रालयले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गर्न खोजेको आक्रमण प्रयास असफल पारिएको दाबी गरेको छ। यता इरानले कतारसहित अमेरिकी सेनाका आधार शिविर रहेका खाडी मुलुकहरूमा हमला जारी राखेको जनाएको छ।
मध्यपूर्वमा विकसित परिस्थितिले नेपाली यात्रुहरू समेत प्रभावित भएका छन्। सम्बन्धित निकायहरूले यात्रुहरूलाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्स र ट्राभल एजेन्सीसँग सम्पर्कमा रहन आग्रह गरेका छन्।
