मंगलबार सुनको मूल्यमा उछाल, चाँदी सस्तियो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र विनिमय दरको प्रभावका कारण सुनको मूल्यमा वृद्धि भएको व्यवसायीहरू बताउँछन्।
यता, सुनको मूल्य बढिरहँदा चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति र अमेरिकी डलरसँगको विनिमय दरका आधारमा आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।
