तराईमा रङहरूको उत्सव होली आज हर्षोल्लासका साथ मनाइँदै
विराटनगर । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमाको दिन मनाइने होली तराईमा भने भोलिपल्ट मनाउने परम्परा अनुसार आज यस क्षेत्रमा उत्साहका साथ पर्व मनाउन लागिएको हो।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा रङ अबिर छ्याप्दै, नाचगान गर्दै होली पर्व मनाइँदैछ।
मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। परम्परागत रूपमा सबै प्रकारका भेदभावलाई भष्म गर्दै एकअर्कामा रङ दल्ने, सद्भाव साटासाट गर्ने र आपसी मनोमालिन्य त्याग्ने पर्वका रूपमा होलीलाई लिइन्छ।
पण्डित त्रिलोचन भुर्तेलका अनुसार होली असत्यमाथि सत्य, छलमाथि निष्कपटता र अधर्ममाथि धर्मको विजयको प्रतीक हो। “अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भाव र भ्रातृत्व भावना प्रवर्द्धन गर्ने पर्वका रूपमा होलीले विशेष स्थान ओगटेको छ,” उनले बताए।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका र ढुण्ढा जस्ता पौराणिक पात्रसँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामले मनाउन थालिएको बताइन्छ। ढोल, डम्फु र मृदंगको तालमा नाचगान गर्दै, मिठाइ र परिकारको स्वाद लिँदै रमाइलो वातावरणमा पर्व मनाउने परम्परा रहिआएको छ।
पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले अनुमति बिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्ने लगायतका गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने बताए। उनले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, हानिकारक रसायनिक रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्। कुनै आपराधिक गतिविधि भएमा प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गर्न समेत उनले अनुरोध गरे।
होली पर्वले समाजमा समानता, सद्भाव र आपसी भाइचाराको भावना सुदृढ बनाउने विश्वास गरिएको छ।
