गीता मन्दिरमा पहिलो पटक होली महोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित गीता मन्दिरमा २०८२ सालको होली पर्वको अवसर पारेर भव्य रूपमा होली कार्यक्रम सम्पन्न भएको छ। मन्दिर परिसरमा आयोजित कार्यक्रममा भक्तजनहरूले लड्डु गोपाललाई अबिर र फूल चढाउँदै भजन–कीर्तन, नाचगान तथा रंग खेल्दै उत्साहका साथ पर्व मनाएका हुन्।

होली पर्वको सुरुवात भगवानसँग रंग खेलेर गरिएको मन्दिरका अध्यक्ष श्रवणकुमार अग्रवालले जानकारी दिए। उनका अनुसार गीता मन्दिरमा पहिलो पटक होली पर्वको आयोजना गरिएको हो।

कार्यक्रममा भक्तजनहरू आ–आफ्नो घरबाट लड्डु गोपालको प्रतिमा लिएर आएका थिए। उनीहरूले भगवानसँग होली खेल्दै सामूहिक रूपमा नाचगान गरी धार्मिक तथा सांस्कृतिक माहोलमा रमाइलो गरेका थिए।

उक्त कार्यक्रममा समाजसेवी तथा उद्योगपति देवकीनन्दन अग्रवाल, राजकुमार अग्रवाल, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

Sarita Karmakar