परिचयपत्र वा नागरिकता देखाएर मतदान गर्न पाइने

काठमाडौँ । निर्वाचन आयोग नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सकिने जनाएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ बमोजिम मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

यस्तै, मतदाताले राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक आधिकारिक कागजात देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले मात्रै मतदान गर्न पाउने स्पष्ट पार्दै आयोगले यस सम्बन्धी सूचना मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवाला निकायलाई सम्प्रेषण गर्ने निर्णय गरेको उल्लेख गरेको छ।

निर्वाचनलाई व्यवस्थित, सहज र विश्वसनीय बनाउन आवश्यक कागजात साथमै लिएर मतदान केन्द्रमा उपस्थित हुन आयोगले मतदातालाई आग्रह गरेको छ।

Sarita Karmakar