सीमा क्षेत्रमा रहेका मतदानस्थलको संयुक्त अनुगमन सुरु

बिराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरीका सीमा क्षेत्रमा रहेका मतदानस्थलहरूको संयुक्त अनुगमन सुरु गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले बुधबारदेखि स्थलगत निरीक्षण थालेका हुन्।

सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अवस्थाको अवलोकन गरेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपत्कालीन अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो।

नेपाल–भारत सीमा जोडिएका बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकामा रहेका मतदानस्थल विशेष प्राथमिकतामा राखेर निरीक्षण गरिएको उनले बताए।

निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा निकायले प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरेर सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको सुनाउँदै सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन्।

Sarita Karmakar