ताप्लेजुङमा यस वर्ष पहिलोपटक हिमपात, पाथीभरा क्षेत्रमा चिसो बढ्यो
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। शुक्रबार दिउँसो सामान्य वर्षापछि साँझदेखि हल्का हिमपात सुरु भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार हिमपातसँगै क्षेत्रमा चिसो उल्लेखनीय रूपमा बढेको छ। चिसो बढेपछि समितिले तीर्थयात्रीलाई जाडोबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ।

हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको बताइएको छ। यद्यपि, रातभर परेको हिउँका कारण बिहानै मन्दिर पुगेका भक्तजनले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने अवसरसमेत पाएका छन्।

हिमपात भए पनि मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। स्थानीयका अनुसार मौसम अझै चिसो रहने सम्भावना रहेकोले यात्रुहरूलाई न्यानो लुगा र आवश्यक सामग्रीसहित यात्रा गर्न आग्रह गरिएको छ।
