चुनाव आउन ९ दिन बाँकी: आचारसंहिता कस–कसलाई लाग्छ?
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले आचारसंहिता लागू हुने व्यक्ति, संस्था तथा निकायबारे पुनः स्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य उजुरी परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ।
आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार तथा तिनका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुन्छ। यस्तै, संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकाय, पदाधिकारी तथा कर्मचारी पनि आचारसंहिताको दायरामा पर्नेछन्।
स्थानीय कार्यपालिका र तिनका सदस्य, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानका कर्मचारी, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मीलाई समेत आचारसंहिता अनिवार्य रूपमा लागू हुने आयोगले जनाएको छ।
त्यसैगरी सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा तिनका शिक्षक–कर्मचारी, राजनीतिक दल, भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता पालना गर्नुपर्नेछ।
निजी क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था, सहकारी, उद्योग–व्यवसाय, वस्तु तथा सेवा प्रदायक संस्था, गैरसरकारी संस्था तथा तिनका पदाधिकारी र कर्मचारी पनि आचारसंहिताको दायरामा रहने आयोगले स्पष्ट पारेको छ।
यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, विकास साझेदार संस्था, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सरकारी वा अर्धसरकारी परियोजनामा कार्यरत कर्मचारीलाई पनि आचारसंहिता लागू हुने जनाइएको छ।
स्थानीय तहका केही पदाधिकारी आचारसंहिता विपरीत चुनावी प्रचारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार स्मरण गराएको थियो भने सोमबार पुनः सरकारी र निजी क्षेत्रलाई सचेत गराएको हो।
आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
