चिसो घटे सँगै मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

बिराटनगर । मुस्ताङस्थित मुक्तिनाथ मन्दिर मा चिसो घटेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ। फागुन सुरु भएयता दैनिक करिब चारदेखि पाँच हजारसम्म भक्तजन पुग्न थालेका छन्। हिउँदयाममा सङ्ख्या घटे पनि मौसम सुधार भएसँगै धार्मिक पर्यटकको आगमन वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको छ।

दर्शनार्थीको व्यवस्थापनका लागि लाइन व्यवस्था, सरसफाइ, स्वच्छ पानी, स्वास्थ्यकर्मी र अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालनमा राखिएको छ। १०८ धारा र कुण्डमा स्नान गर्ने भक्तजनका लागि आगो ताप्ने सुविधा पनि गरिएको छ।

तर, मुख्य प्रवेशद्वार साँघुरो हुनुका साथै पर्याप्त शौचालय र चेञ्जिङरुम अभावका कारण केही असुविधा हुने गरेको बताइएको छ। पूर्वाधार सुधारका लागि आठ योजना स्वीकृतिका लागि पठाइएको समितिले जनाएको छ।

बेनी–जोमसोम सडकमार्ग सहज बनेसँगै पर्यटक आगमन बढेको छ। चालु आर्थिक वर्षको सात महिनामा मुस्ताङमा तीन लाखभन्दा बढी पर्यटक भित्रिएका छन्।

Sarita Karmakar