यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

बिराटनगर। नेपाली बजारमा यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताभर सुनको मूल्य कुल १ हजार २०० रुपैयाँले मात्रै बढेको हो।

साताको पहिलो कारोबार दिन शुक्रबार (फागुन १) प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, साताको अन्तिम दिन शुक्रबार (फागुन ८) ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भयो।

आइतबार (फागुन ३) सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो। तर, सोमबार भने ३ हजार रुपैयाँले घट्दै ३ लाख २ हजार ८०० रुपैयाँमा झर्यो। त्यसपछि मंगलबार ३ लाख १ हजार ९०० रुपैयाँ, बुधबार ३ लाख ४ सय रुपैयाँ र बिहीबार पुनः बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भयो। शुक्रबार पनि बिहीबारकै मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य उतारचढाव देखियो। साताको सुरुआतमा प्रतितोला ५ हजार रुपैयाँ रहेको चाँदी अन्त्यसम्म ५० रुपैयाँले बढेको छ।

आइतबार ४ हजार ९८५ रुपैयाँमा झरेको चाँदी सोमबार ४ हजार ८८० रुपैयाँमा कारोबार भयो। मंगलबार ४ हजार ८८५ रुपैयाँ, बुधबार ४ हजार ८०० रुपैयाँ, बिहीबार बढेर ५ हजार ६० रुपैयाँ पुगेको चाँदी शुक्रबार ५ हजार ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा डलर विनिमय दरका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।

Sarita Karmakar