जेम्स स्कुलको ३२औँ वार्षिकोत्सवः उत्कृष्ट विद्यार्थीसहित विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

विराटनगर । विराटनगर–१ पोखरियास्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने विद्यार्थी, अभिभावक र शिक्षक–कर्मचारीलाई सम्मान गरेको छ ।

बुधबार आयोजित विशेष समारोहमा विद्यालयले शैक्षिक उत्कृष्टता, बहुमुखी प्रतिभा र दीर्घसेवालाई उच्च मूल्यांकन गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

गत वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीश्रीजी पोखरेलका अभिभावक चन्द्रकुमार पोखरेल र सुमना आचार्य पोखरेललाई विद्यालयले विशेष सम्मान प्रदान गरेको छ। त्यस्तै कक्षा ९ मा अध्ययनरत बहुप्रतिभाशाली विद्यार्थी अनादी ढकालाई ‘स्टुडेन्ट अफ द इयर’ घोषित गर्दै पुरस्कृत गरिएको थियो ।

शैक्षिक सत्र ९ बाट १० मा उक्लिँदा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः अनुष्का दाहाल, आविसा कोइराला र श्वेता शर्मालाई पनि सम्मान गरिएको छ । साथै फुटसल, कबड्डी, टेबलटेनिस र टग अफ वारलगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।

दीर्घकालीन सेवाका लागि १९ वर्षदेखि अध्यापनरत शिक्षिका मुना तामाङ र १४ वर्षदेखि प्रशासन शाखामा कार्यरत विनोद निरौलालाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले पाठ्यक्रमगत अध्ययनसँगै व्यवहारिक र जीवनोपयोगी शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष डा. मनोजकुमार गुप्ताले जेम्सले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा उल्लेखनीय भूमिका खेलेको बताए ।

सो अवसरमा अभिभावक चन्द्रकुमार पोखरेल, नागरिक समाजका अगुवा वसन्त अधिकारी, विद्यालयका निर्देशक भेषराज पोखरेल, प्रिन्सिपल पंकज खड्का, मेरिल्याण्ड कलेजका प्राचार्य लक्ष्मण ढकाल, साहित्यकार दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) तथा कवि एवं पत्रकार मीनकुमार नवोदितलगायत वक्ताहरूले प्रविधिमैत्री शिक्षासँगै संस्कार र नैतिकताको शिक्षालाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

वि.सं. २०५० सालमा स्थापना भएको जेम्सले २०६२ सालदेखि एसएलसी (हाल एसईई) परीक्षामा सहभागिता जनाउँदै आएको छ । भाइस प्रिन्सिपल पंकज साहका अनुसार विद्यालयले एसईईमा हालसम्म शतप्रतिशत नतिजा कायम राख्दै आएको छ । हाल करिब ६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा करिब ५० जना शिक्षक–कर्मचारी आबद्ध छन् ।

Sarita Karmakar