आइसिसी एसिया क्षेत्रीय सम्मेलन २०२६ नेपालमा हुने
बिराटनगर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसिया क्षेत्रको २०२६ को सम्मेलन नेपालमा आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जानकारी दिँदै आइसिसी एसिया क्षेत्रीय सम्मेलन आगामी वैशाख ३ र ४ गते काठमाडौंमा हुने जनाएको हो। उक्त सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक तथा प्रतिनिधिहरूको सहभागिता रहने क्यानले जनाएको छ।
क्यानका अनुसार सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि तय गरिनुपर्ने रणनीतिक प्राथमिकता, विभिन्न विकास कार्यक्रम, सुशासनसम्बन्धी विषय तथा क्रिकेटको भावी दिशाबारे विस्तृत छलफल हुनेछ।
यो सम्मेलन नेपालमा आयोजना हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सम्मेलनमार्फत क्षेत्रीय सहकार्य विस्तार हुनुका साथै नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय छवि अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
