एक महिनाभित्र नतिजा प्रकाशन अव्यवहारिक: त्रिवि परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने निर्णय अव्यवहारिक भएको जनाएको छ।

परीक्षा सह–नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार हालसम्म विश्वविद्यालयमा सय दिनभित्र नतिजा प्रकाशन गर्ने मापदण्ड कायम छ। विगतमा वार्षिक प्रणाली लागू हुँदा नतिजा आउन २३ महिनासम्म लागेको उदाहरणसमेत रहेको उनले बताए। अहिले भने त्रिविले करिब तीन महिनाभित्र नतिजा प्रकाशन गर्दै आएको छ।

उनले करिब ५ लाख विद्यार्थी अध्ययन गर्ने त्रिविको नतिजा एक महिनाभित्र निकाल्न आवश्यक जनशक्ति र संरचना तयार नभएको स्पष्ट पारे। “एक महिनाभित्र नतिजा प्रकाशनका लागि आवश्यक संयन्त्र निर्माण भइसकेको छैन,” उनले भने।

हाल पोखरा, विराटनगर, नेपालगञ्ज, अत्तरिया र बद्रिबासस्थित पाँच क्षेत्रीय कार्यालयमार्फत उत्तरपुस्तिका संकलन भइरहेको छ। विज्ञान र मानविकी संकायका उत्तरपुस्तिका केन्द्रीय कार्यालय बल्खुमा ल्याएर परीक्षण गर्नुपर्ने व्यवस्था छ भने व्यवस्थापन र शिक्षाशास्त्रका उत्तरपुस्तिका क्षेत्रीय स्तरमै परीक्षण गरिन्छ।

परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलले पनि एक महिनाभित्र नतिजा निकाल्नु चुनौतीपूर्ण हुने बताए। उनका अनुसार गोप्य तथा प्रक्रियागत कामहरू पूरा गर्न समय लाग्ने भएकाले छिटो नतिजा प्रकाशन कठिन हुन्छ।

यता, प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले भने सबै तहका परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन्। नतिजा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुने भएकाले समयमै नतिजा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले प्रदेश स्तरमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएर भए पनि छिटो नतिजा प्रकाशन गर्ने विकल्पबारे छलफल भइरहेको बताएका छन्।

Sarita Karmakar