मोरङमा ब्राउन सुगरसहित युवक पक्राउ, हवाई फायरपछि नियन्त्रण
मोरङ । लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ वैशाख ७ गते रतुवामाई नगरपालिका–१ हटियाडाँडामा विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिलाई रोक्न खोज्दा उनी भाग्न खोजेका थिए। भाग्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा रतुवामाई–१ सोनापुरका अन्दाजी २१ वर्षीय मो. आविद मियाँ रहेका छन्। उनको साथबाट ५ वटा प्लास्टिकको पोका बनाई ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ४४७ ग्राम ८५० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनले प्रयोग गरेको BR 38 AD 5390 नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
