कच्चा पदार्थ र इन्धन महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने संकेत
काठमाडौं । नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ तथा इन्धनको मूल्यमा भएको उल्लेख्य वृद्धिका कारण प्रशोधित पिउने पानीको बजार मूल्य समायोजन गर्न सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।
महासंघले लागत विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा पुरानै मूल्यमा उद्योग सञ्चालन सम्भव नभएको निष्कर्ष निकाल्दै मूल्य वृद्धि गर्न सर्कुलर जारी गरेको जनाएको छ।
महासचिव ध्रुव प्रसाद अधिकारीका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल र जारलगायत कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतले बढेको छ। साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्चसमेत महँगिएको छ।
महासंघले अन्तर्राष्ट्रिय परिस्थिति—रुस–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको असहजताका कारण आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावले नेपालका उद्योगहरू प्रत्यक्ष प्रभावित भएको जनाएको छ।
‘बढ्दो उत्पादन र ढुवानी लागतका कारण मूल्य समायोजन अपरिहार्य बनेको हो,’ महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ। साथै, यो निर्णय नाफामूलक नभई उद्योगको अस्तित्व जोगाउन बाध्यात्मक कदम भएको पनि महासंघको भनाइ छ।
हाल देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ३० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।
महासंघले उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न तथा उद्योगमैत्री नीतिगत सहजीकरणका लागि सरकारसँग कूटनीतिक पहल गर्न समेत माग गरेको छ।
