अन्तर्राष्ट्रिय आरोग्य दिवस आज: स्वस्थ जीवनशैली र निवारणमुखी स्वास्थ्यमा जोड

बिराटनगर। आज (अप्रिल १५) विश्वभर पहिलोपटक अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको महासभाले यस वर्षदेखि यो दिवस मनाउने घोषणा गरेको हो।

नेपालको प्रस्तावमा महासभाले गत फागुन २६ गते अनुमोदन गरेपछि अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा स्थापना गरिएको हो। दिवसको मुख्य लक्ष्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अपनाउन विश्व समुदायलाई प्रेरित गर्नु रहेको छ।

यस अवसरमा रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीको आवश्यकता औंल्याइएको छ। यस्तो दृष्टिकोणले जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति तथा स्थानीय समुदायका संस्कृतिहरू र परम्परागत ज्ञानको महत्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुर्‍याउने उल्लेख गरेको छ।

दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। विभिन्न देशमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना भइरहेका छन्।

यसअघि मनाइँदै आएका अन्तर्राष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) ले पनि समग्र आरोग्य प्रवर्द्धनमा पूरक भूमिका खेलेका छन्।

दिगो विकास लक्ष्यअन्तर्गत स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ। सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने लक्ष्यसहित मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य असमानता न्यूनीकरणमा जोड दिइएको छ।

Sarita Karmakar