प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक, आम्दानी स्रोत डिजिटल प्लेटफर्म
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख छ। उनले आफ्नो आम्दानीको मुख्य स्रोत Facebook, YouTube र Spotify रहेको बताएका छन्।
सम्पत्ति विवरणमा उनका परिवारको नाममा विभिन्न स्थानमा जग्गा रहेको उल्लेख गरिएको छ। उनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं–९ मा ५ आना जग्गा तथा धनुषामा १.२ बिघा जग्गा रहेको छ भने बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको जनाइएको छ।
त्यस्तै, श्रीमती सवितासँग १ सय ९० तोला सुन रहेको र उक्त सम्पत्तिको स्रोत पैतृक भएको विवरणमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहले आफ्नो सामाजिक सञ्जालमा रहेको फलोअर संख्या समेत सम्पत्ति विवरणमा समावेश गरेका छन्।
