मन्त्री दीपककुमार साहलाई फिर्ता बोलाउन रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लागेपछि रास्वपा सभापति रवि लामिछाने ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष मन्त्री साहलाई पदमुक्त गर्न सिफारिस गरेका हुन्। स्रोतका अनुसार प्रधानमन्त्री शाहले पनि साहलाई पदबाट हटाउने तयारी गरेका छन्।

मन्त्री साहमाथि आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा पुनः नियुक्त गराउन पदीय शक्ति प्रयोग गरेको आरोप लागेको छ। यसअघि बोर्डका ११ वटा बैठकमा लगातार अनुपस्थित भएपछि श्रेष्ठलाई सदस्य पदबाट हटाइएको थियो। तर, पछिल्लो समय उनी पुनः सदस्यको हैसियतमा बैठकमा सहभागी भएपछि विवाद सतहमा आएको हो।

रास्वपाले यस विषयलाई गम्भीर रूपमा लिँदै पार्टीको केन्द्रीय अनुशासन आयोगमार्फत अध्ययन गराएको थियो। आयोगले चैत २५ गते आवश्यक कारबाहीका लागि सिफारिस गरेपछि पार्टीले साहलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सभापति लामिछानेले बिहीबार प्रधानमन्त्रीलाई औपचारिक पत्र पठाउँदै मन्त्री साहको कार्यले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर परेको उल्लेख गरेका छन्। पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको मर्यादा जोगाउने जिम्मेवारी रहेको र धारा ६९ अनुसार ‘राइट टु रिकल’ प्रयोग गरी मन्त्रीलाई फिर्ता बोलाइएको पत्रमा जनाइएको छ।

यसैबीच, रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेको छ। स्वास्थ्य बीमा बोर्डजस्तो संवेदनशील विषयमा अपेक्षित जिम्मेवारी नदेखाएको भन्दै पार्टीले ध्यानाकर्षण गराएको हो।

Sarita Karmakar