ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
बिराटनगर । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सोमबार सुनुवाइ गर्ने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरु भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले चैत १५ गते गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका हुन्।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको रिट निवेदनमा चैत १६ गते ‘कारण देखाउ आदेश’ जारी गरेका थिए।
रिट निवेदनमा भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा गरिएको पक्राउ र थुनालाई गैरकानुनी भएको उल्लेख गरिएको छ।
