झापा दोस्रो उपाधिको दाउमा, सम्राट इतिहास रच्ने लक्ष्यमा
विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि पूर्व विजेता झापा – ११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ।
सहिद रंगशालामा शनिबार राति ७ बजेबाट हुने फाइनल भिडन्तमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने तयारीमा छन् ।
विराट गोल्डकपको इतिहासमा झापा – ११ दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई नै हराएर उपाधि जितेको थियो । यसपटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो ।
अर्कोतर्फ, पहिलो पटक प्रतियोगितामा भाग लिएको सम्राट स्पोर्टिङ क्लबको मनोबल उच्च छ । उसले क्वाटरफाइनलमा पाहुना टोली भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ कै गोल अन्तरले पराजित गर्दै सनसनी मच्चाएको छ ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गरे । सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताए । “पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो,” उनले भने, “झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रुपमा उत्कृष्ट छन् । घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्नेछौं ।” उनले फाइनलमा कोमल खवासलाई मैदान उतारिने जानकारी समेत दिए ।
सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताए ।
यता, झापा–११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा जितेको उपाधि अहिले प्रशिक्षकका रूपमा पनि दोहोर्याउन चाहेको बताए । “म आफैंले यही मैदानमा खेल्दा उपाधि जितेको अनुभव छ, अहिले प्रशिक्षकका रूपमा त्यो इतिहास दोहोर्याउन चाहन्छु,” खड्काले भने, “हामीसँग तीन जना विदेशी खेलाडी छन् । सम्राटलाई हामीले कमजोर ठानेका छैनौं, उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन्, त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ ।”
झापाका कप्तान पूजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रो पटक झापा लैजाने विश्वास व्यक्त गरे ।
चैत २८ देखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो । शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
