मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना
विराटनगर । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा उच्च रहेको उल्लेख गर्दै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचन उद्धृत गरेका छन्। उनले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतका रूपमा स्मरण गर्दै सबै आमाहरूको दीर्घायुको कामना गरेका छन्। साथै, सन्तानको कर्मले आमाहरू सधैं खुसी र गर्वित हुन सकून् भन्ने इच्छा व्यक्त गरेका छन्।
शुभकामनामा उनले मातृभक्तिसँगै देशभक्तिलाई जोड्दै ‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्ने भाव व्यक्त गरेका छन्।
