हिमानी ट्रस्टद्वारा स्वयंसेवक सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न 

बिराटनगर । सामाजिक सेवामा निरन्तर क्रियाशील गैरनाफामूलक संस्था हिमानी ट्रस्टले आफ्ना समर्पित स्वयंसेवकहरूलाई सम्मान गर्न विशेष “भोलिन्टियर रिकग्निसन एण्ड मिट एण्ड ग्रीट” कार्यक्रम आयोजना गरेको छ। युवराज्ञी हिमानी शाहको पहलमा स्थापना गरिएको उक्त संस्थाले समाजसेवामा सक्रिय भूमिका खेल्दै आएको छ।

कार्यक्रममा युवराज्ञी हिमानी शाहले स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना व्यक्त गरेकी थिइन्। उनले स्वयंसेवकहरूको निःस्वार्थ सेवा, समय र समर्पणप्रति प्रशंसा गर्दै यिनै प्रयासहरूले संस्थालाई समाजमा प्रभावकारी बनाउन मद्दत पुगेको उल्लेख गरिन्। कार्यक्रममा संस्थासँग आबद्ध स्वयंसेवकहरूको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै ट्रस्टका प्रतिनिधिहरूले स्वयंसेवकहरू संस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्य र प्रतिबद्धता कायम रहने विश्वास व्यक्त गरे। साथै, कार्यक्रममा सहभागी स्वयंसेवकहरूबीच अनुभव आदान–प्रदान, नेटवर्किङ तथा आपसी सम्बन्ध सुदृढ गर्ने अवसर समेत प्रदान गरिएको थियो।

हिमानी ट्रस्टले स्वयंसेवकहरूको अमूल्य साथ, सहयोग र निरन्तर प्रतिबद्धताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सामाजिक रूपान्तरणका लागि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Sarita Karmakar