नेप्से परिसूचक सामान्य गिरावट
काठमाडौं । २०८२ सालको अन्तिम शेयर कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २,८३३.६० बिन्दुमा कायम भएको हो।
आज ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर १ लाख १ हजार १८० पटक खरिदबिक्री भएका छन्। यस क्रममा कुल ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता देखाएको छ।
आजको कारोबारमा अधिकांश समूहका उपसूचक घटेका छन्। बैंकिङ समूह ०.४७ प्रतिशतले घट्दा विकास बैंक ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ तथा अन्य समूह १.६२ प्रतिशतले ओरालो लागेका छन्।
यता, केही समूहमा भने हरियाली देखिएको छ। होटल तथा पर्यटन समूह १.०२ प्रतिशतले बढ्दा जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ तथा निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले वृद्धि भएका छन्।
यसैबीच, आजको कारोबारमा चार कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।
