सरकारको ‘प्रेस विरोधी’ निर्णयविरुद्ध आन्दोलनको चेतावनी
बिराटनगर । नेपाल पत्रकार महासंघ का सचिव रमेश खतिवडा ले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई असर पर्ने सरकारी निर्णयविरुद्ध सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको विज्ञापनमा रोक लगाउने निर्णयबाट पछि हट्ने संकेत नदेखिएपछि आन्दोलनको विकल्प नरहेको उनले बताएका हुन्।
महासंघको टोलीले सञ्चारमन्त्री विक्रम तिमल्सिना लाई मन्त्रालयमै भेटेर उक्त निर्णय र परिपत्र नमान्ने स्पष्ट पारेको खतिवडाले जानकारी दिए।
उनका अनुसार निजी र सामुदायिक मिडियामाथि अन्याय हुने निर्णय स्वीकार्य नहुने भन्दै विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक र समावेशी बनाउनुपर्ने माग राखिएको छ। साथै, विज्ञापन क्षेत्रमा देखिएका अनियमितता नियन्त्रणका लागि महासंघसहित सम्बन्धित सबै निकाय सहकार्य गर्न तयार रहेको उनले बताए।
मन्त्री तिमल्सिनाले भने विज्ञापन क्षेत्रमा बिचौलिया हाबी भएको र भ्रष्टाचार बढेको भन्दै सरकारी कदमको बचाउ गरेका थिए। यसप्रति असहमति जनाउँदै खतिवडाले समस्या समाधानको उपाय सञ्चारमाध्यम बन्द गराउनु नभई कानुनी तथा नीतिगत सुधारमार्फत प्रणाली व्यवस्थित गर्नु रहेको बताए।
उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर दररेट र विज्ञापन वितरण प्रक्रिया सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। सरकारको वर्तमान नीतिले मोफसलदेखि केन्द्रसम्म सञ्चालित सयौं सञ्चारमाध्यमको अस्तित्व संकटमा पार्ने र स्वतन्त्र प्रेस कमजोर बनाउने चेतावनी उनले दिए।
“लोकतन्त्रमा मिडिया सुदृढ हुनुपर्छ, कमजोर होइन,” उनले भने, “सरकारको यस्तो स्वेच्छाचारी निर्णयविरुद्ध सम्पूर्ण सञ्चार क्षेत्र एकजुट भएर सडकमा उत्रिनुको विकल्प छैन।”
